१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

चिनी उद्योगबाट ठगीएपछि उखु किसान आन्दोलित


३० फागुन, नवलपरासी । नवलपरासीका उखु किसान चिनि उद्योगबाट आफु ठगीएपछि आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगले उचित मूल्य र समयमै उखुको भुक्तानी नदिएपछि उखुको उचित मुल्य र समयमै भुक्ततानीको माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

उखु क्रसिङ याम अन्तिम अवस्थामा आइपुग्दासम्म चिनी उद्योगले रकम भुक्तानी नगरेका उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । पश्चिम नवलपरासीस्थित इन्दिरा सुगर मिल गंगापुरले किसानलाई उखुको तौलमा ठगी गरेको पुष्टि भएपनि सरोकारवाला पक्षले कारबाही प्रक्रिया अघि नबढाएको किसानले बताएका छन् ।

भुक्तानीको माग गर्दै किसानले इन्दिरा सुगर मिलमा तालाबन्दीसमेत गरेका छन् । उखु किसानलाई रकम भुक्तानी र तौलमा ठगी गरेबापत किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने अध्यक्ष यादवले बताएका छन् । उखु तौलमा ठगिएका किसानलाई दोब्बर क्षतिपूर्ति दिनुपर्ने र ठगी कार्यमा संलगन मिल सञ्चालक र बिचौलियालाई ठगी मुद्दाअन्तर्गत कारबाही हुनुपर्ने समितिको माग छ ।

उक्त मिलले यस वर्ष अहिलेसम्म करिब पाँच लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । हालसम्म करिब रु सात करोड बराबरको मात्र भुक्तानी गरेको उखु कृषक समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार १८:५३