कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय नहट्ने
१४ कात्तिक, काठमाडौँ । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय नहटाउने भएको छ । सरोकारवालाको विरोधपछि सरकारले यस्तो निर्णय लिएको हो । सरकारको यो निर्णयसँगै अब तीन वटै विज्ञान (बायोलोजी, फिजिक्स र केमेस्ट्री) विषयका विद्यार्थीहरुले चाहेमा गणित विषय पढ्न पाउने भएका छन् ।
यसअघि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको प्रारुप तयार पारेको थियो । सो प्रारुपमा अनिवार्य गणितलाई ऐच्छिक बनाइएको थियो । गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने भन्दै सरोकारवालाले विरोध गरेका थिए ।
प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ११:०६