३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधनः के-के भए परिवर्तन ?

११ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ लाई संशोधन गरेको छ । सोमबार केन्द्रिय बैंकले उक्त मार्गदर्शनमा संशोधन गदै केहि लचिलो नीति लिएको छ।

केन्द्रिय बैंकले बैंकिङ्ग प्रणालीबाट उत्पादनमूलक उद्योगको हकमा कुल ३ करोडसम्म चालु पूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू नहुने व्यवस्था गरेको छ। यसअघि यस्तो सिमा १ करोड रहेको थियो।

यस्ता ऋणीलाई प्रवाह हुने चालु पूँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पूँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन्। तर, चालु पूँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनुपर्नेछ ।

यसैगरी संशोधित मार्गदर्शनमा फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु.२ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा रु.४ करोडसम्म) को चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ।

यसअघि फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु.२ करोड वा सोभन्दा कम रकमको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ। यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने व्यवस्था थियो।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १२:२९