भ्रष्टाचारको दलदलमा बुढानिलकण्ठ स्कुलः छानविनमा अख्तियारको उदासिनता
११ भदौ, काठमाडौँ । देशको नमुना सरकारी स्कुलको उपमा पाएको बुढानिलकण्ठ स्कुलमा भर्नामा भ्रष्टाचार हुने गरेको तथ्य बाहिर आएको छ । विद्यालयका प्रधानाध्यापकले आर्थिक लेनदेनमा भर्नामा मेरिट लिस्टको समेत उलंघन गर्ने गरेको आरोप लगिरहेको थियो यस पटक उक्त आरोप पुष्टि हुनेगरी केही तथ्य समेत सार्वजनिक भएको छ ।
अवासीय रूपमा अध्ययन गराउने बुढानिलकण्ठमा निजी विद्यालयमा भन्दा महंगो शुल्क भए पनि अभिभावकको आकर्षण रहँदै आएको छ । नयाँ शैक्षिक सत्र सुरू हुँदा लिइने प्रवेश परीक्षामा विद्यालयले अनियमित तरिकाले विद्यार्थी भर्ना गरेपछि आर्थिक लेनदेनको विषय पनि बाहिर आएको हो ।
पैसा र शक्ति दुबैको सन्तुलनमा प्रधानााध्यापक होमनाथ आचार्यले काम गर्ने गरेको विद्यालय व्यवस्थापन समितिकै सदस्यहरू पनि बताउँछन । कक्षा ५ मा भर्नाका लागि प्रवेश परीक्षाम सहभागी भएर अनुत्तीर्ण भएका विद्यार्थीको नाम नै परिवर्तन गराएर प्रधानाध्यापक आचार्यले भर्ना लिएका छन ।
यस विषय दैनिकीले प्रधानाध्यापक आचार्यसँग चासो राख्दा उनले आफ्नो अधिकारको प्रयोग गरेर त्यस्तो काम गरेको बताए । तपाईले एक जना विद्यार्थीको भर्नामै लाखौ रूपैयाँ घुस खाएको भन्ने आरोप रहेछ नि भन्ने दैनिकीको प्रश्नमा आचार्यले भने, ‘म बुढानिलकण्ठ स्कुलको प्रधानाध्यपक हुँ । भर्ना मेरो अधिकारको कुरा हो । मैले गरेको कुरामा अरूले भनेर केही हुँदैन ।’ दैनिकीको प्रश्नको केही समयमै आचार्यले विभिन्न शक्तिकेन्द्र मार्फत समाचार रोक्नका लागि अनुरोध पठाएका थिए । उनी अहिले कारबाहीबाट जोगिन शक्तिकेन्द्र धाउन थालेका छन ।
आचार्यकै कारण यस पटक स्कुलमा छात्रवृत्तिको तीन वटा कोटा खारेज भएको छ । बुढानीलकण्ठ स्कुलमा हरेक वर्ष एउटा कक्षामा जम्मा १३६ जना विद्यार्थी भर्ना हुने गरेका छन् । यसरी भर्ना हुँदा ४२ जना छात्रवृत्ति र ९४ जना शुल्क तिरेर पढ्ने विद्यार्थी लिइने गरिन्छ । यो वर्ष ९४ को ठाउँमा ९७ जनालाइ शुल्क तिरेर भर्ना गरिएको छ । जसले ३ वटा छात्रवृत्तिको ठाउँ खारेज भएको छ । ४२ जना छात्रवृत्तिमध्ये २ जना स्थानीय बुढानीलकण्ठ नगरपालिकावासीले पाउनेमा १ जना मात्र उत्तीर्ण भएका थिए । नियमित शुःल्क तिरेर भर्नाका लागि तयार रहेका विद्यार्थीको सूची काटेर अनियित ढंगले चोरबाट घुस लिएर विद्यार्थी भर्ना गरिएको हो ।
यस प्रकरणको घुसको बाँडफाँडमा शिक्षा मन्त्रालयकै कर्मचारी समेत संलग्नता रहेको व्यवस्थापन समितिको एक सदस्यले दैनिकीलाई जानकारी दिए । यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको छ । आचार्यले घुस खाएर भर्ना गराएको आरोप लागेका विद्यार्थी मध्येको एकको भने सुनसरीको एक विद्यालयबाट नक्कली प्रमाणपत्र बनाइएको बुझिएको छ । उनको उक्त प्रमाणपत्रमा उमेरसमेत घटाइएको छ ।
आचार्यले भर्नामै गरेको भ्रष्टाचारका बारेमा शिक्षा मन्त्रालयले पनि छानविन गरिरहेको छ । बुढानिलकण्ठ स्कुलका लागि सरकारले वार्षिक ६ करोड रूपैयाँ अनुदान समेत दिने गरेको छ । आचार्यले केही वर्षअघि देखि नै भर्नामा अनियमिता गर्दै पैसा असुल्ने गरेको अभिभावकहरूले आरोप लगाएका छन । उनले तीन वर्षमा गरेको अनियमितताको बारेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संवेदनशील भएर छानविन गर्नुपर्ने अभिभावकहरूले बताएका छन । अख्तियारले परेकै उजुरीमा कारबाही प्रक्रिया अघि बढाउन उदासिन देखिएको र मन्त्रालयका अधिकारीहरू पनि प्रभावित भएको कतिपयले आरोप लगाएका छन ।
(विद्यार्थीको गोपनियताको ख्याल गर्दै उनीहरूको र उनीहरूको अभिभावकको नाम समाचारमा उल्लेख नगरिएको हो -प्रधानसम्पादक)
प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १५:०१