२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले अध्यक्ष केपी शर्मा ओली आफैँले तोडे आफ्नै हस्ताक्षरसहितको ‘अपानि’

९ भदौ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफैँले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानि) तोडेका छन । शनिबार गृह जिल्ला झापामा भएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा ओली आफैँले अपानि तोडेका हुन । मञ्चमा वक्तामात्र बस्ने निर्देशन ओली आफैँले उलंघन गरेका हुन ।

ओलीले केही दिनअघिमात्र अपानि मार्फत आफैँले गरेको अपिल उलंघन गरेका हुन । एमालेको पछिल्लो सचिवालय बैठकले पटक ब्यानर राखेर गरिने सबै औपचारिक कार्यक्रममा मञ्चको प्रयोग वक्तालेमात्र गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसहितको अपानिमा ओली आफैँले दिएको निर्देशन उलंघन गरेका हुन । उनले मञ्चको प्रयोग वक्तालेमात्र प्रयोग गर्ने भन्ने निर्देशन उलंघन गर्दै शनिबारको कार्यक्रममा एमाले कोशी इन्चार्ज समेत रहेका पार्टी सचिव रघुबीर महासेठ र  क्षेत्र नम्बर ५ का क्षेत्रीय संयोजक तुलसी कार्कीलाई दायाँ र बायाँ राखेका छन । ओलीले बोलिरहँदा सचिव महासेठ भने उपरखुट्टी लगाएर सुनिरहेका छन ।

यसअघि सुर्खेतमा एमाले कर्णालिको प्रचार विभागले गरेको कार्यक्रममा महासचिवले पनि अपानिको उलंघन गरेका थिए । एमालेले जारी गरेको अपानिनमा भनिएको छ, ‘सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आशनग्रहण र मञ्च व्यवस्थापनको विषयः सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएको छ । कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ । कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्ने गरी अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको वयवस्था मिलाउने र कार्यक्रममा तथा कार्यक्रम सुरू भएपछि आशनग्रहणको उद्घोषणा गरिरहने परम्परा अन्त्य गर्ने निर्णय गरिएको छ । कार्यक्रममा व्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्न र कार्यक्रमलाइ भड्किलो नबनाउन समेत निर्देशत गरिएको छ ।’

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १७:१३