१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

धरानमा आज रातिदेखि २४ घण्टे निषेधाज्ञा जारी

८ भदाै, काठमाडाैं । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उप-महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । धार्मिक, साम्प्रदायिक र जनस्वास्थ्य संकटको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ८ गते राति १२ बजेदेखि भदाै ९ गते राति १२ बजेसम्म २४ घण्काका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी गरिएको सूचनामा भनिएकाे छ, ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरेर संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौ ८ गते राति १२ बजेदेखि भदाै ९ गते राति १२ बजेसम्म अत्यावस्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेध आदेश जारी गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ ।

धरान उप-महानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नगरपालिका ६ नम्बरबाट वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रसम्म निषेधाज्ञा लागू गरिएको छ ।

यस्तै, इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १७:०५