८ बीमा कम्पनीले पाए हकप्रद सेयर जारी गर्ने अनुमति
८ भदाै, काठमाडौं । नेपाल बीमा प्राधिकरणले ८ वटा बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । प्राधिकरणले ४ वटा जीवन बीमा र ४ वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
प्राधिकरणले तोकेको न्युनतम पुँजी पुर्याउन कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको हाे । प्राधिकरणले जीवन बीमातर्फ एशियन लाइफ इन्स्योरेन्सलाई ४२ प्रतिशत, सानिमा रिलायन्सलाई २० प्रतिशत, प्रभु महालक्ष्मीलाई १७ प्रतिशत र सूर्य ज्योतिलाई १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । यसअघि एशियन बाहेकका कम्पनी मर्जरमा गएका थिए ।
यस्तै, युनाईटेड अजोडलाई ३२ प्रतिशत, नेको इन्स्योरेन्सलाई २५ प्रतिशत, सानिमा जिआईसीलाई २५ प्रतिशत र हिमालयन एभरेष्टलाई १२ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिइएको प्राधिकरणले जनाएको छ । यीमध्ये नेको बाहेक अन्य कम्पनी मर्जरमा गएका थिए ।
मर्जरपश्चात् पनि तोकिए जति पुँजी नपुगेका कम्पनीलाई हकप्रदको सहुलियत दिएको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १६:३८