८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

बकैयाको चपकीमा लोपोन्मुख दारको वृक्षरोपण

७ भदौ, मनहरी (मकवानपुर) । मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातिको बिरुवाको वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालयको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यक्रमको शुभारम्भ वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका सचिव यज्ञनाथ दाहालले दार प्रजातिको बिरुवाको संरक्षण गर्न सबैसँग आग्रह गर्नुभयो । विश्वमा धेरै प्रजातिको बिरुवा लोप हुँदै गएको र यसले मानिसलाई सङ्कटमा पार्नसक्ने भएकाले संरक्षण आवश्यक भएको बताउनुभयो ।

अहिले दार, विजय साल, सादनलगायतका प्रजाति लोप हुँदै गएका र यसको संरक्षण गरी भावी पुस्तालाई उपहार दिनुपर्ने उल्लेख गर्दै सचिव दाहालले लोप हुन लागेका प्रजातिको संरक्षणमा लाग्न वनकर्मी, जनप्रतिनिधि, संरक्षणकर्मी, सामुदायिक वन, स्थानीय लगायतलाई आग्रह गर्नुभयो । उहाँले लोपोन्मुख प्रजातिका बिरुवाको संरक्षण गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमासमेत प्रतिबद्धता जनाइसकेको हुँदा दारको संरक्षण गरी मकवानपुरको दारको ठेकीलाई आर्थिक उपार्जनका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख शिव सापकोटाले यो क्षेत्र दारका लागि उपयुक्त स्थान रहेको हुँदा चरिचरन नियन्त्रण गरी दारको संरक्षण गर्न आग्रह गर्दै वन कार्यालयले सदैव सहयोग गर्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले दारको गोडमेल गर्ने कार्यमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा डिभिज वन कार्यालय राप्ती, मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले मकवानपुरमा धेरै प्रकारका बहुमूल्य प्रजातिका बिरुवा रहेको जनाउँदै यसको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । मकवानपुर दारको ठेकीबाट चिनिने हुँदा दारको संरक्षणमा सबैपक्ष क्रियाशील भएर लाग्नुपर्ने आचार्यको भनाइ थियो ।

बकैया–१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईं, सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष साधुराम चौलागाईं, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वसन्तराज गौतम, सवडिभिजन वन कार्यालय, बकैयाका प्रमुख नरेश पुर्वे, सवडिभिजन वन कार्यालय मकवानपुरगढीका प्रमुख डटेन्द्र गोले, स्थानीय वन उपभोक्ता लगायतको सहभागिता थियो । सो कार्यक्रममा एक हजार दारका वृक्षरोपण गरिएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १६:४७