८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

यस्ता छन मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू

६ भदाै, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त राष्ट्रसङ्घको सभामा भाग लिन अमेरिका जाने भ्रमण स्वीकृत गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।

बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्कासन सातौँ संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

सरकारले राजनीतिक परिवर्तनमा गीतसङ्गीतका माध्यमबाट सहयोग पुर्‍याएका स्व जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १२:५१