२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

भ्रष्टाचार मुद्दामा माधव नेपाल जोगिने भएपछि विद्रोहको औचित्य सावित भएको नेकपा एसको ठहर

४ भदाै, काठमाडाैँ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गराउने कर्ममा सत्ता गठबन्धनको बैठकले पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा बाबुराम भट्टराई जोगाउने निर्णय गरेको एक साता पनि नबित्दै नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकले तत्कालीन नेकपा (एमाले) बाट आफूहरूले गरेको विद्रोहबाट देशको संविधान, सङ्घीयता र राजनीतिक परिवर्तनको रक्षार्थ सहयोग पुगेको निष्कर्ष निकालेको छ । उक्त समयमा एमालेबाट विभाजित हुनुको कारण पनि सोही बालुवाटार जग्गा प्रकरणमा दोषी हुने डर रहेको थियो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले अहिलेसम्मका सबै घटनाक्रम र प्रवृत्तिबाट उक्त विद्रोहको औचित्य सावित भइसकेको ठहर गरेको हो । पार्टी स्थापनादेखि अहिलेसम्मका राजनीतिक विकासक्रम तथा त्यसमा पार्टीको भूमिकाबारे पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको वैचारिक दृष्टिकोणमा केन्द्रित बैठकमा ४९ नेताले धारणा राखेका थिए ।
उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आसन्न केन्द्रीय कमिटी बैठक र महाधिवेशनका तयारीबारे विशेष छलफल गरिएको बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति निर्माणका कार्ययोजनामा छलफल गरिएको थियो ।
देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र हाम्रो कार्यभार, राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल गरिएको थियो । पार्टीले यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार २२:५७