३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

झलनाथलाई विस्थापित गरेर मदनलाई स्थापित गरेको नेकपा (माले)को त्यो सिराहा महाधिवेशन…


४ भदाै, काठमाडाैँ । नेकपा (माले)को चौथो राष्ट्रिय महाधिवेशन सिराहाको सर्ले अम्वास विष्णुपुरकट्टीमा २०४६ सालको भाद्र ९ देखि १४ मा सम्पन्न भएको थियो । सोही नेकपा (माले)को निरन्तरताको रूपमा रहेको नेकपा (एमाले)ले पार्टीको केन्द्रीय सचिवालय बैठक अहिले सिराहाको सर्ले अम्वास विष्णुपुरकट्टीमा जुन स्थानमा गर्ने तयारी र चर्चा छ । एमालेका नेताहरूले उक्त ऐतिहासिक स्थलको अहिले प्रचारप्रसार गरिरहेका छन ।

यही सन्दर्भमा दैनिकीले त्यस महाधिवेशनमा वर्गीय र उमेरगत सहभागिता कस्तो थियो भन्ने खोजी गरेको छ । उक्त महाधिवेशनमा ५६ जिल्लाका पार्टी सदस्य र भारत प्रवास क्षेत्र र अन्य विभिन्न मोर्चाहरूबाट प्रतिनिधि सहभागी भएका थिए । महाधिवेशनमा सहभागी हुनेमध्ये पार्टी सदस्यता सबैभन्दा पुरोनो भएकाहरूको २०२२ सालको रहेको थियो ।

उक्त महाधिवेशनमा सहभागी हुने सबैको औसत पार्टी जीवन १२ वर्षको रहेको थियो । महाधिवेशनमा सहभागी हुने सबैभन्दा कम उमेरको २५ वर्षका प्रतिनिधि थिए भने सबैभन्दा बढी उमेरका ५५ वर्षका प्रतिनिधि रहेका थिए । सो महाधिवेशनमा ३० वर्षमुनीका १५ प्रतिशत, ३० देखि ४० वर्षका ७७ प्रतिशत र ४५ वर्षभन्दा माथिका ७ प्रतिशत प्रतिनिधि सहभागी थिए ।

नेकपा (माले) द्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ठिक ३४ वर्षपछि त्यसै दिन र त्यसै हलमा नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बस्ने तयारी हुँदैछ । तस्बिर र तस्बिरको वर्णनः एमाले उपमहासचिव प्रदीप ज्ञवालीको फेसबुकबाट

उनीहरूको औसत उमेर ३६ वर्षको रहेको थियो । महाधिवेशनमा सहभागी मध्ये महिला ४.७ प्रतिशत र पुरूष ९५.३ प्रतिशत रहेका थिए । उक्त महाधिवेशनमा मजदुरहरू ५.९ प्रतिशत, भूमिहिन र गरिब ७.१४ प्रतिशत, किसानहरू ५१.१९ प्रतिशत, निम्न पुँजीपतिहरू ११.९ प्रतिशत, धनी किसानहरू २०.२४ प्रतिशत र राष्ट्रिय पुँजीपतिहरू १.१६ प्रतिशत र जमिन्दारहरू २.२८ प्रतिशत रहेका थिए । महाधिवेशनमा उपस्थित भएकाहरूमध्ये ८४.५२ प्रतिशत पूर्णकालीन कार्यकर्ता रहेका थिए ।

यसरी भएको थियो चौथो महाधिवेशन

कम्युनिस्ट आन्दोलन छरिएर रहेको र कम्युनिस्ट पार्टी विभाजित अवस्थामा रहेको बेलामा त्यसलाई संयोजन गर्नका लागि २०२८ मंसिर २० गते  मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंहलगायतका नेताहरुको सक्रियता र सहभागितामा केन्द्रीय न्युक्लियस गठन गरेर एकताका लागि कोसिस आरम्भ भएको थियो ।

एकताका लागि उक्त न्युक्लियसले पुष्पलालसँग पनि वार्ता र छलफल गरे पनि सहमति बन्न सकेन । अन्ततः २०३१ भदौ ३० गतेदेखि असोज ७ गतेसम्म भारतको वाराणसीमा मोहनविक्रम सिंहको अगुवाइमा चौथो महाधिवशेन आयोजना गरियो । त्यसले एकता कायम गर्नेभन्दा थप नयाँ समूह बनाएर नेकपामा अर्को विभाजन ल्याउने काम गर्यो, जुन मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा (चौथो महाधिवेशन) का नामले चिनिन थाल्यो ।

अर्कातिर २०२८ सालमै पूर्व कोशी प्रान्तीय कमिटी अन्तर्गतको झापा जिल्ला कमिटीले सशस्त्र संघर्ष गर्ने निर्णय गरेको थियो र झापामा त्यसका केही झिल्काहरु देखिएका थिए । त्यही झापा विद्रोहकै धारअन्तर्गत २०३२ साल जेठमा अखिल नेपाल क्रान्तिकारी को–अर्डिनेशन केन्द्र (माले) को गठन गरेर कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई अघि बढाउने कोशिस थालियो । त्यसलाई अघि बढाउँदै २०३५ पुस ११ गते मोरङको इटहरामा राष्ट्रिय सम्मेलन गरी नेकपा (माले) को स्थापना गरियो, जुन कालान्तरमा नेपालको कम्युनिस्ट आन्दोलनको मूलधारका रुपमा स्थापित भयो ।

कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना ग¥यो । उक्त महाधिवशेनले संयुक्त जनआन्दोलनसम्बन्धी सुस्पष्ट दृष्टिकोण अघि सार्नुका साथै नयाँ जनवादमा बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई अंगीकार गर्ने नीति अघि सा¥यो ।

त्यस महाधिवेशनले ०३९ सालमा सीपी मैनालीलाई विदा गरी महासचिव बनेका झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिवका रुपमा चयन गर्यो । पार्टी नेतृत्वमा मदन भण्डारी आएपछि माघमा संयुक्त वाममोर्चा गठन भयो र, नेपाली कांग्रेससँग सहकार्य गरी २०४६ फागुन ७ गतेदेखि संयुक्त जनआन्दोलनको थालनी नै गरियो । जनआन्दोलनबाट बहुदलीय व्यवस्थाको स्थापना भयो । परिवर्तित परिस्थितिमा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई नेकपा (एमाले) को गठन भएपछि त्यो नै नेकपाको मूलप्रवाहका रुपमा स्थापित भयो र अहिलेसम्म निरन्तर रहेको छ ।

(महाधिवेशनको विज्ञप्ति नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेको फेसबुक पेजबाट साभार गरिएको हो -प्रधानसम्पादक)

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १५:४७