२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

देउवातर्फ संकेत गर्दै गृहमन्त्रीले भनेः भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न खोजे

१ भदाै, गोरखा। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन ।  गोरखाको अजिरकोट गाउँपालिका-३ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’को आज उद्घाटन गर्दै उहाँले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए ।

केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार र भुटानी शरणार्थी काण्डको छानविन अघि नबढाउन र त्यसको अनुसन्धान गर्ने प्रहरी अधिकारी माथि कारबाही गर्न भन्दै निवासमै बोलाएर गृहमन्त्रीलाई निर्देशन दिएका थिए । राम्रो काम गरेको भनेर जनताबाट समेत ताली खाइरहेका प्रहरी अधिकृतमाथि देउवाको निर्देशनकै भरमा कारबाहीको डण्डा चलाउन नसकी रहेका गृहमन्त्री श्रेष्ठले शुक्रबार गृह जिल्लाको एक कार्यक्रममा बोल्दै गर्दा सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताए ।

गृहमन्त्री श्रेष्ठले भने, ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं। जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिंदैन।’ नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने बताए ।

उनले राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मुल ध्येय पनि यही रहेको बताए ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ११:४२