८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

६ बीमा कम्पनीलाई हकप्रद जारी गर्न प्राधिकरणको सहमति, कसले कति निष्काशन गर्न पाउने ?

३२ साउन, काठमाडाैं । नेपाल बीमा प्राधिकरणले तोकिएको न्यूनतम पुँजी पुर्याउन नसकेका ६ वटा बीमा कम्पनीलाई हकप्रद सम्बन्धी प्रक्रिया अघि बढाउन दिने निर्णय गरेकाे छ । बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिकाे बैठकले मर्जरपछि पनि चुक्ता पुँजि नपुगेका बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो।

पहिलो चरणमा प्राधिकरणले मर्ज भएर पनि तोकेको पुँजी नपुगेका ३ वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिने निर्णय गरेको हाे । पहिलो चरणमा जीवन बीमा कम्पनीहरु सूर्यज्योति, सानिमा रिलाइन्स, प्रभु महालक्ष्मी लाईफ र निर्जीवन बीमा कम्पनीहरु अजोड युनाइटेड इन्स्योरेन्स, हिमालयन एभरेष्ट तथा सानिमा जिआईसीलाई हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउन सहमति दिने निर्णय गरेको हो ।

यी कम्पनीलाई न्यूनतम १० प्रतिशतदेखि २५ प्रतिशतसम्म हकप्रद सेयर निष्कासनको अनुमति दिइने प्राधिकरणको एक अधिकारीले जानकारी दिए। प्राधिकरणले तोकेको पुँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१.९५ प्रतिशत,सूर्यज्योतिले १० प्रतिशत,सानिमा रिलायन्सले १९.५० प्रतिशत, हिमालयन एभरेष्टले ११.६१ प्रतिशत युनाइटेड अजोडले २३.२६ प्रतिशत र सानिमा जीआईसी इन्स्योरेन्सले २५ प्रतिशतको हकप्रद निष्काशन गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार ११:०२