छुटाउनु भयो कि ? १ लाख कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन
३१ साउन, काठमाडाैं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज साउन ३१ गते अन्तिम दिन रहेको छ।कम्पनीले गत साउन २८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।
कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको छ।
सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।
सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा साउन ३० गते साँझसम्म १० लाख १७ हजार ४५२ आवेदकबाट कुल १ करोड १४ लाख ६१ हजार २१० कित्तका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ५.०३ गुणाले बढी हो।
प्रकाशित मिति : 09:56









