१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

शिक्षाका लागि आमा रत्नकुमारी सुनुवारको सन्देशः पढ्न र सफलता प्राप्त गर्न उमेरले छेक्दैन

३१ साउन, काठमाडौँ । कक्षा १२ को परीक्षामा बानेश्वर क्याम्पसमा अध्यनरत ८० वर्षीया आमा रत्नकुमारी सुनुवार राम्रो अंकाका साथ उत्तीर्ण हुनुभएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार आमा रत्नकुमारी सुनुवारले २।६४ जिपिए प्राप्त गरी उत्तीर्ण हुनुभएको छ । उहाँले ८० वर्षको उमेरमा आफूमा दृढ संकल्प सहित ईच्छाशक्ति भएमा पढ्नका लागि उमेरले छेक्दैन भन्ने कुरा पुष्टि गर्नुभएको छ ।

विक्रम संवत २००१ मंसिर १ गते जन्मिनु भएको रत्नकुमारी सुनुवारले रहरले पढ्नुभएको हो । काठमाडौँको कोटेश्वर बस्ने आमा रत्नकुमारीले कोरोनाको समयमा एसइइ उत्तीर्ण गर्नुभएको थियो । तिनकुनेमा रहेको महिला विद्यालयमा पढ्नुभएको उहाँले कक्षा ११ देखि भने बानेश्वर बहुमुखी क्याम्पसमा भर्ना भएर पढ्न थाल्नु भएको हो ।

श्रीमान, बुहारी, नाती नातीनासँगै बस्ने आमा रत्नकुमारीले माइलो छोराको छोरा (नाती)सँगै परीक्षा दिनुभएको थियो । उहाँले परीक्षा चलिरहेकै समयमा आफ्नो परीक्षा राम्रो भएको बताउनुभएको थियो । आँखा राम्रोसँग नदेख्ने भएका कारण आमा रत्नकुमारीको परीक्षा कक्षा १० मा अध्ययनरत लोकेन्द्र शाहीले दिएका थिए । लोकेन्द्रले प्रश्न सुनाइदिएपछि आमा रत्नकुमारीले जवाफ दिनुहुन्थ्यो अनि त्यही जवाफ लोकेन्द्रले उत्तरपुस्तिकामा लेखिदिन्थे । उहाँ ट्याक्सी चढेर परीक्षा दिन जानुहुन्थ्यो र ट्याक्सी चढेर नै परीक्षाकेन्द्रबाट फर्किनुहुन्थ्यो ।

आमा रत्नकुमारी विद्यालय जाँदा छिमेककै महिलाहरूले धेरै खिसीटियुरी गर्थे । उनीहरूले बुढी मान्छे लखर लखर हिड्ने ! पढेर के हुन्छ भन्थे ! त्यसको जवाफमा म तिमीहरू जस्तो होइन भन्दै उहाँले जवाफ दिनुहुन्थ्यो । ती महिलाहरूसँगको कुरा उधृत गर्दै दैनिकीसँग उहाँले भन्नुभएको थियो, ‘म त पढ्न हो अर्काको कुरा काटेर बस्दिन । भन्थे । अहिले मेरो श्रीमान, छोरा, बुहारी, नातीनतिना सबै खुशी छ ।’

नेपालमा अपार सम्भावना भए पनि अध्ययन अनुसन्धान गरेर त्यसको कार्यान्वयनमा जाने मान्छे नभेटिएको उहाँको गुनासो छ । नेपाल प्राकृति स्रोत र खनिजमा धनी भए पनि त्यसको अनुसन्धान र उत्खनन् गर्ने मान्छे नभेटिएको उहाँ बताउनुहुन्छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ०७:३७