१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

निजी विद्यालयको शुल्क आतंक सुरू, केजीको शुल्क ७५ हजार, राेक्ने कसले ?

३० फागुन, काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुँदै गर्दा निजी विद्यालयको शुल्क आतंक सुरु भएको छ । नयाँ शैक्षिकसत्रसँगै हरेक वर्ष चर्को शुल्क वृद्धि गर्दै आएका निजी विद्यालयले यसपटक पनि शुल्क वृद्धि गरेका छन । निजी विद्यालयले शुल्क वृद्धिमात्रै होइन उनीहरुले तोकेको शुल्क पनि अत्यन्तै महंगो रहेको छ ।

नयाँ शैक्षिकसत्र सुरु हुने पूर्व सन्ध्यामा अभिभावक संघकी वरिष्ठ उपाध्यक्ष सरिता अर्यालले फेसबुकमा बुधबार एउटा यस्तो स्टाटस लेखेकी छिन । ‘मध्यमवर्गीय केटाकेटी पढाउने संस्थागत स्कुलले पनि कक्षा के जीमा भर्ना गर्न ल्याएको बच्चाको अभिभाबक सित एकमुष्ट ७५ हजार माग्न थाले पछि अभिभाबकको टाउकोमा हात । कसलाई भन्ने कहाँ भन्ने ?’

उनले काठमाडौँको धापासीमा रहेको त्रियोग माध्यामिक विद्यालयले कक्षा केजीका लागि एक मुष्ठ ७५००० हजार शुल्क तोकेको चिटसहित अर्यालले लेखेको यो स्टाटसले विद्यालयको शुल्क आतंक र अभिभावको मनोदशालाई प्रष्ट पार्छ । केजीमै यतिधेरै शुल्क तिर्नुपरेपछि ती अभिभावकले भविष्यामा आफ्ना बालबालिकालाई कसरी उच्च शिक्षा देलान आजको महत्वपूर्ण प्रश्न यही हो ।

त्रियोग माविको शुल्कको विषयमा दैनिकीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष अर्यालले निजी विद्यालयको आतंकको नागरिकस्तरबाटै प्रतिवाद गर्नुपर्ने बताइन । उनले राज्यका निकायहरु संक्रमणको चपेटामा रहेको अवस्थामा निजी विद्यालयले आतंक सिर्जना गरिरहेको भन्दै कठोर नीति अख्तियार गर्नुपर्ने बताइन ।

विद्यार्थी संगठनहरुले पनि निजी विद्यालयको शुल्क आतंक बन्द गर्न मोर्चाबन्दी गरेर अघि बढ्ने तयारी गरेका छन । अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले दैनिकीसँग कुरा गर्दै निजी विद्यालयको शुल्क आतंकले सीमा नाघेको भन्दै अन्य विद्यार्थी संगठनहरुसँग पनि छलफल गरेर खबरदारी अभियान सञ्चालग गर्ने बताए ।

निजी  विद्यालयले वर्षेनी चर्काे शुल्क वृद्धि गरेपनि सराेकारवाला  निकायकाे माैनता भने झनै डर लाग्लो देखिएको छ । राज्य चाहने भने हरेक  विषय नियन्त्रण र न्यूनिकरण गर्न सक्छ तर शुल्क वृद्धिमा शिक्षा मन्त्रालय, शिक्षा विभाग लगायतले खासै चासो देखाएका छैनन् । यसमा तत् निकायमा कार्यकर्त उच्च तहका कर्मचारीकाे पनि स्वार्थ त मिसिएको छैन भन्ने अाशंका जन्मिएको छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार १३:१२