२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सुन तस्करी प्रकरणको छानबिन सीआईबीबाटै टुंग्याउनुपर्ने कांग्रेसको निर्णय

२९ साउन, काठमाडाैं । नेपाली कांग्रेस सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने पक्षमा उभिएको छ । साेमबार बसेकाे कांग्रेस संसदीय दलकाे बैठकले उच्चस्तरीय छानबिन समिति गठनको आवश्यकता नदेखिएको निष्कर्ष निकालेको हो ।

प्रमुख सचेतक रमेश लेखकले बैठकपछि सुन तस्करी प्रकरणको प्रभावकारी छानबिन सरकारी निकायले नै गर्नुपर्ने बताए ।

‘सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करी हुने र गैरकानूनी कार्य पूर्णरूपमा निस्तेज हुनुपर्छ । जोसुकै दोषीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ र निष्पक्ष स्वतन्त्र र गहिराई र स्वतन्त्ररूपमा छानबिन हुनुपर्छ’, उनले भने ।

‘एक क्विन्टल सुन आएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको निगरानी हुने ठाउँबाट सुन बाहिरिनु गम्भीर छ । यस्ता गैह्रकानूनी प्रयासलाई निस्तेज र नियन्त्रण गर्न जरुरी छ,’ लेखकले भने, ‘त्यसैले यो प्रकरणमा जोडिएका जो सुकै भए पनि छानबिन र कारवाबाहीको दायरामा आउनुपर्छ ।’

यो प्रकरणको छानबिन सिआइबीले गरिरहेको भन्दै कांग्रेसले अझै निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १४:५६