२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

तेस्रो पटकको हल्लामा पनि मन्त्री नभएपछि हितबहादुरले भनेः फोन उठाउन नपाएकोमा क्षमा चाहन्छु

२९ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङले मन्त्री फेरबदलको पार्टीको निर्णयमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरिरहेको तस्बिर राख्दै तामाङले मन्त्री फेरबदलबारे पार्टीले गरेको निर्णयमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन ।

उनले केही सञ्चार माध्यमले मन्त्री हुँदैछ भन्ने समाचार लेखिदिएपछि बधाइ र शुभेच्छा ओइरोनै लागेको र फोनमा त्यही मात्रामा आउँदा रिसिभ गर्न नभ्याएको बताएका छन । उनले फोन उठान नसकेको र फिर्ता गर्न नपाएको पनि क्षमा मागेका छन ।  तामाङ झण्डै मन्त्री भएको यो तेस्रो पटक हो । यसअघि युवा तथा खेलकुद मन्त्री भैसकेका तामाङ कुशल संगठक मानिन्छन । यसअघि मन्त्रीको चर्चा भएर अन्तिममा धोका खाएका उनको निकटहरूले मन्त्रीको सपथ नखाइ समाचार नलेख्न अनुरोध नै गरेका थिए ।

यस्तो छ तामाङको सन्देश

२०८०/०४/२९

मोबाइल रिसिभ गर्न नसकेको प्रति क्षमा चाहन्छु । हिजो २८ गते बिहान प्रकाशित केही राष्ट्रिय दैनिक पत्रिकाहरुले संघीय सरकारको मन्त्री परिषदका सदस्यहरु हेरफेर हुने र नयाँ समावेश हुने मन्त्री मध्य एकमा मेरो नाम लेखिएको रहेछ। त्यसपछि उक्त शिर्षकको समाचारहरु सामाजिक सञ्जालमा पनि व्यापक हुन थाल्यो । नाम चलेका online मिडियाहरुले पनि त्यही समाचार प्रकाशित गर्न थाले । त्यही समाचारलाई आधार बनाई मेरा शुभचिन्तक, साथीभाइ, समर्थकधेरैले सामाजिक सञ्जालको माध्यमबाट शुभकामना र बधाईहरु ओइरो नै लाग्न थाल्यो ।

ती मिडियाहरुले केको आधारमा समाचार बनाए मलाई थाहा भएन।त्यस समाचारको पुष्ट्याई गर्न वा प्रतिक्रिया बुझ्नलाई होला सयौंको संख्यामा मिडिया कर्मी साथीहरुले फोन गर्न थाल्नु थियो । त्यतिनै संख्यामा साथीभाईहरुले कल गर्नु भएको थियो तर मैले कल रिसिभ गर्न सम्भव भैरहेको थिएन ।

एउटा संग कुरा नटुंगिदै दर्जनको संख्यामा कल आउथ्यो। फेरि मोबाइलको नयाँ सिस्टम अनुसार मोबाइल ब्यस्त हुदै गर्दा पनि घण्टी जाने र कल आउने प्रक्रियाले कतिपय मित्रहरूलाई मोबाइल कल रिसिभ नगरेको भन्ने पनि लाग्यो होला। कल रिसिभ नहुनुको वास्तविक कारण नभ्याएको भएर हो ।

पछि Call back गर्न पनि हुन्थ्यो तर बेलुका भएपछि पार्टी केन्द्रीय कार्यालयको निर्णय सार्वजनिक भई सकेको थियो । मैले भनिरहनु पर्ने अवस्था टरिसकेक‍ो महसुस भयो । मन्त्री परिषद हेरफेर सम्बन्धि निर्णय पार्टी केन्द्रीय कार्यालयले जे गर्यो त्यसमा मेरो पुर्ण समर्थन छ। मोबाइल रिसिभ नहुदा पर्न गएको असुविधा प्रति सबैमा क्षमा चाहन्छु ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार ०९:०२