८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

काठमाडौंमा चटपटे, पानीपुरी र खुला दूध बेच्न रोक लगाउने तयारी

२८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पानीपुरी, चटपटे जस्ता खानेकुरा बेचबिखनमा रोक लगाउने तयारी गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बर्खायामभरि खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने प्रस्तावबारे छलफल भएको हाे ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने गरेकोले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको बताए । ‘खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो। यसलाई तत्काल रोक लगाउनुपर्छ,’ उनले भने।

खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन्।

बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन उनले निर्देशन दिएकी छन्।

यस्तै काठमाडौं महानगरले पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड विपरीत जार जफत र नष्ट गर्ने अभियानलाई निरन्तरता दिने भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार १६:०८