२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सुन तस्करी प्रकरणमा याेगेश भट्टराईकाे प्रश्नः गृहमन्त्रीकाे बयान कसले लिन्छ ?

२३ साउन, काठमाडाैं । नेकपा एमालेका सचिव याेगेश भट्टराइले १०० किलाे सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा बोल्दै एमालेका सचिव समेत रहेका योगेश भट्टराईले गृहमन्त्रीमाथि कसले छानबिन कसले गर्छ ? भन्दै प्रश्न गरे। उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भनेर प्रश्न गरे ।

उनले भने, ‘गृहमन्त्रीजी तपाई राजनीतिक कमिसार, तपाईंको फिल्ड कमिसार को छ ? तपाईंको आदेश फिल्ड कमिसारले मानेको छैन कि ? कि फिल्ड कमिसारको सूचना तपाईंले भेरीफाई गर्नुभएको छैन ? हामीलाई गम्भीर शंका छ । त्यसकारण गृहमन्त्रीसँग बयान कसले लिन्छ ? के सीआईबीले लिन्छ ? के राजस्व अनुसन्धानले लिन्छ ?’

भट्टराईले अर्थमन्त्रीमाथि समेत प्रश्न गर्दै भने, ‘अर्थमन्त्रीमाथि हाम्रो प्रश्न छ, प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ, राष्ट्रिय अनुसन्धान आयोगमाथि शंका छ । यत्रा निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए ? यिनीहरुमाथि प्रश्न कसले उठाउँछ ? सीआईबीले उठाउँछ ? उठायो ? भन्सार विभागले उठायो ? यी तमाम कुराको छानबिन नगरी तथ्य पत्ता लाग्दैन ।’

उनले भप प्रश्न गर्दै भने, ‘सीआईबीले तीन महिनाअगाडि छानबिन गरेर रिपोर्ट बुझाएको फाइल आज गृहमन्त्रीको टेबुलमा छ अघि बढ्दैन । राजस्व अनुसन्धान विभागले २० दिन छानबिन गरेर आज सीआईबीलाई फाइल बुझाएको छ । त्यो बीचमा के खेल भइरहेको छ ?’

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १७:०३