८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

गौर हत्याकाण्डका पीडित र सरकारबीच ५ बुँदे सहमति

२३ साउन, काठमाडाैं । गौर हत्याकाण्ड पीडित र सरकारबीच ५ बुँदे सहमति भएको छ । २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनामा परी मृत्यु तथा घाइते भएका व्यक्तिहरूका सन्दर्भमा आन्दोलनरत गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृहमन्त्रालयबीच मंगलबार ५ बुँदे सहमति भएको हो ।

गौर घटनाको विषयमा समयमा दर्ता भएका जाहेरीसमेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा दुवै पक्षबीच सहमति भएको छ ।

तत्कालीन सरकारद्वारा सहिद घोषणा गरिएका गौर घटनाका मृतकहरूको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने; मृत्यु भएका तर सहिद घोषणा हुनबाट छुटेकालाई सहिद घोषणाको प्रक्रिया अगाडि बढाउने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

उक्त घटनामा घाइते भएका र उपचाररत व्यक्तिका लागि उचित प्रबन्ध गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा मन्त्रिपरिषद्‌को कार्यालयमा अनुरोध गर्ने सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।

२०६३ चैत ७ गते गौरस्थित राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो । मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाख रुपैयाँका दरले क्षतिपूर्ति पाएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १५:०९