बैंकहरुमा सबैभन्दा बढी नाफा कमाउन सफल नबिल बैंक, प्रतिसेयर आम्दानी कति ?
२१ साउन, काठमाडाैं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार नबिल बैंकले समग्र बाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ ।
समीक्षा अवधिमा बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। यसअनुसार उसको लाभांश वितरण क्षमता १४.६४ प्रतिशत रहेको देखिन्छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२३ प्रतिशत पुगेको छ।
बैंकको सञ्चालन मुनाफा ७५.३६ प्रतिशतले बढेर ११ अर्ब १ करोड रुपैयाँ रहेको छ। बैंकको सञ्चालन मुनाफा ६ अर्ब २८ करोड रुपैयाँ थियो। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड रुपैयाँ भएको छ। २७ अर्ब ५ कराड करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २१.६५ प्रतिशत बढेको छ भने कर्जा लगानी १०.८२ प्रतिशत बढेको छ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपियाँ १८ पैसा बढेर २७ रुपैयाँ ८२ पैसा पुगेको छ । अघिल्लो वर्ष बैंकको ईपीएस १८.६४ रुपैयाँ थियो। पीई रेसियो २१.५४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१४.६९ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १०:५१