७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

नेपालको तीन जिल्लाको शिक्षा र खानेपानीका चार परियोजनामामा भारतले १७ करोड लगानी गर्ने

२० साउन, काठमाडाैँ । भारतले नेपालको तीन जिल्लाको चार परियोजनामा करिब १७ करोड लगानी गर्ने भएको छ । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा कार्यान्वयन हुने चारवटा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक परियोजनाको समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, दार्चुला जिल्लाको व्याँस गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, संखुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण हुनेछ ।

त्यस्तै उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाई परियोजनामा पनि भारत सरकारको लगानी हुनेछ । यी सबै परियोजनाको कार्यान्वयन क्रमशः शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्नेछन् ।

सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । यस मध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा रहेका छन् । सबै परियोजनाको कूल लागत करिब नेरु. १२२० करोड (भारु.७६२ करोड) रहेको छ । यी परियोजनाहरु धेरै जसो नेपाल सरकारको स्थानीय निकायमार्फत कार्यान्वयन भएका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार १०:२१