२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाद्वारा दाबी पेस

१६ साउन, काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि गठबन्धन दल कांग्रेसका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । मंगलबार बहुमत सदस्यसहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेस संसदीय दलका नेता थापाले दाबी पेस गरेका हुन् ।

उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै पद बदर गरिदिएपछि प्रदेश प्रमुखले मंगलबार ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी राख्न आव्हान गरेका थिए।

प्रदेश प्रमुख खापुङको आह्वान अनुसार प्रदेशसभामा आवश्यक बहुमत ४७ पुर्‍याएर थापाले दाबी पेश गरेका हुन्। सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक पर्छ । एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १७:१४