२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

१६ साउन, काठमाडाैं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले गठबन्धनको नयाँ सरकार गठनको लागि बहुमत जुटाउन पदबाट राजीनामा दिएका हुन् । उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

गठबन्धनले नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकोमा दावी पेश गर्ने भएका छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराएको हो । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नेछ । गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

सभामुखबाट राजीनामा नदिने अडानमा रहेका गौतम साेमबार आफूलाई मुख्यमन्त्री बनाए राजीनामा दिन सहमत भएका थिए । तर गठबन्धन दलले मुख्यमन्त्रीमा कांग्रेस नेता थापाको नाम अघि सारेपछि उनी प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालको पहलमा राजीनामा गर्न बाध्य भएका हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १६:५२