७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

प्रेस काउन्सिल नेपालको दुरूपयोगमा अनु्सन्धान गर्न सरकारसँग माग

१६ साउन, काठमाडौँ । नेपाल पत्रकारिता विकास समाजले प्रेस काउन्सिल नेपालको दुरूपयोग भैरहेको भन्दै त्यसमा अनुसन्धान गरी दोषी माथि कारबाही गर्न सरकारसँग माग गरेको छ । मंगलबार समाजका सचिव किरण देउजाले विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिल नेपालको दुरूपयोग गरेर भैरहेको कामको निष्पक्ष र सुक्ष्म छानविन गरी दोषीमाथि हदैसम्म कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ प्रेस काउन्सिलका पदाधिकारी र कर्मचारीको अराजकता सिर्जना गराउने त्यहाँको आर्थिक अपारदर्शिता र मनलाग्दी खर्चको बारेमा महालेखा परीक्षकको कार्यालय वा स्वतन्त्र लेखापरीक्षक नियुक्त गरी एकै पाँटक पाँच वर्षको लेखा परीक्षण गरी संस्थालाई स्वस्थ र निष्पक्ष बनाउने काममा लागिदिन सम्बन्धित सरोकारवालाहरूमा हार्दिक अनुरोध समेत गर्दछौँ ।’

विज्ञप्तिमा समाजका अध्यक्ष एवं दैनिकी डट कमका प्रधान सम्पादक माधवप्रसाद तिवारीले प्रेस काउन्सिल र सूचना विभागबाट सम्पादन हुने काम संगठित रूपमा गिरोह नै तयार गरी बिचौलिया मार्फत गर्न खोजिएको विषयमा सामाजिक सञ्जालमार्फत उठाएको गम्भीर प्रश्नमा जवाफ दिनुको साटो पत्र काटेर जवाफ मागेकोमा आपत्ति जनाइएको छ । सचिव देउजाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिचौलियाको गिरोह नै खडा गरेर काम गर्न खोजेको विषयमा छानविन गरेर दोषी माथि कारबाही गर्नुपर्नेमा उल्टै गिरोहको संरक्षण गर्ने र प्रश्न गर्ने पत्रकारको घाँटी निचोर्न खोज्ने प्रवृति देखियो जुन निकै घातक रहेको हाम्रो ठहर छ । यस घटनाले प्रेस काउन्सिल नेपाल, नेपालको पत्रकारिता क्षेत्र व्यवस्थित र नियमन गर्न भन्दा पनि लेटरप्याडको दुरूपयोग गरी कर्मचारी र नेतृत्वको व्यक्तिगत स्वार्थपूर्तिका काम मात्र गरिरहेको त छैन रु भन्ने अर्को गम्भीर प्रश्न सिर्जना गरेको छ ।’

समाजले अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै हरेक नागरिकले आफूलाई लागेको कुरा निर्धक्क राख्न पाउने अधिकार संविधानले मैलिक हक मार्फत सुनिश्चित गरेको कुरा पनि स्मरण गराएको छ । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षाका लागि काम गर्नेुपर्ने निकाय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्दै विचौलिया संरक्षण गर्न लागि परेको देखेर समाज अचम्मित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा प्रेस काउन्सिल नेपाल र सूचना विभागमा हुने काम निश्चित पैसा लिएर सम्बन्धित व्यक्ति सञ्चालकको उपस्थितिबिनै सबै गरिदिन्छु भनि पत्र लेख्ने दीपक आचार्य र उक्त पत्र इमेल मार्फत पत्राचार गर्ने सम्झना पौडेल लगायत त्यस काममा संलग्न सबैमाथि अनुसन्धान गरी नियम अनुसार मुद्दा चलाउन प्रहरीसँग अनुरोध पनि गरिएको छ । समाजले काउन्सिल जस्तो सम्मानित संस्थाकै अपमान हुनेगरी खुलेआम विचौलियाको संरक्षण गर्दै एक जना पत्रकारको प्रश्न रोक्न खोज्ने पत्र फिर्तालिन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार २०:४३