७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

दृढताका साथ काम गर्न विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

११ साउन, काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् ।

आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरेका हुन् ।

“अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ”, उनले भने ।

सो अवसरमा मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका थिए ।

“अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ”, उनले भने, “सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ ।”

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १४:४१