निर्जीवन बीमा कम्पनीको व्यवसाय साढे ४० अर्बः पहिलाेमा शिखर इन्स्योरेन्स, अन्य कसको कति ?
९ साउन, काठमाडाैं । एक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले साढे ४० अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल ४० अर्ब ५७ करोड ५२ लाख २८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।
जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३.५९ प्रतिशतले मात्रै बढी हो। अघिल्लो आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।
यो एक वर्षको अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेकाे छ। एक वर्षमा शिखरले ५ अर्ब ५२ करोड २१ लाख ६५ हजार रुपैयाँको व्यापार गरेको हो ।
त्यस्तै, सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने दास्राेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेकाे छ । कम्पनीले याे अवधिमा एक वर्षमा ४ अर्ब ५५ करोड २३ लाख २२ हजार रुपैयाँको व्यापार गरेको छ । साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बनेको हो । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मिलेर बनेको सिद्धार्थ प्रिमियरले याे अवधिमा ४ अर्ब ५१ करोड ६६ लाख ४२ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।
साथै, साविकको युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्सले असार मसान्तसम्ममा ३ अर्ब ४२ करोड ७३ लाख ७० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले एक वर्षमा ३ अर्ब ३९ करोड रुपैयाँ बढी र हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँको व्यापार गरेको छ ।
याे अवधिमा नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबर, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड ५४ लाख ८६ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ लाख ३७ हजार २३ लाख २६ हजार र सानिमा जिआईसीले २ अर्ब ३२ करोड ४४ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
समिक्षा अवधिमा प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड ८७ लाख ७७ हजार, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड ५८ लाख ८६ हजार, ओरिण्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड ५० लाख २० हजार र नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड ८३ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १३:३५