९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

१६औँ योजनाको अवधारण पत्र तयार, निर्देशक समितिको बैठक बोलाइयो

८ साउन, काठमाडौँ । १६औँ योजनाको अवधारण पत्र तयार भएको छ । राष्ट्रिय योजना आयोगले अवधारण पत्र तयार गरेको हो । आयोगले विभिन्न चरणको छलफल गरेर अवधारणापत्र तयार गरेको हो ।

अवधारणापत्र पारित गर्न आयोगले निर्देशक समितिको बैठक बोलाएको छ । उक्त समिति आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको अध्यक्षतामा रहेको हुन्छ । समितिमा आयोग सदस्यहरु, प्रदेश योजना आयोगका सबै उपाध्यक्षहरु, मूख्य सचिव तथा मन्त्रालयका सचिवहरु रहेका हुन्छन ।

आयोगका प्रेस सल्लाहकार रोयल आचार्यले १६औँ योजनाको अवधारण पत्रको तयारी अन्तिम चरणमा पुगेको र पारित गर्नका लागि आगामी बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हलमा निर्देशक समितिको बैठक बोलाइएको जानकारी दिए ।

१६औँ योजनामार्फत अर्थतन्त्रको संरचनागत सुधार गर्न रुपान्तरणकारी योजना ल्याउने आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले यसअघि नै बताइसकेका छन । श्रेष्ठले १६औं पञ्चवर्षिय योजनाले ‘डिजिटल डाटाबेस र इगभर्नेन्स’ प्राथमिकता पाउने बताएका छन । प्राकृतिक साधन स्रोतको अधिकतम उपयोग गर्न, रोजगारी सिर्जना गर्न र रेमिट्यान्समाथिको परनिर्भरता कम गर्ने कार्यक्रम आगामी योजनामा समेटिनेछन ।

१६ औँ योजना कस्तो बनाउनु पर्छ भन्ने विषयमा आयोगले आफ्ना पूर्व उपाध्यक्ष तथा विज्ञहरुसँग सुझाव लिइसकेको छ । संरचनात्मक रुपान्तरणमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकांक्षका साथ सोह्रौँ योजनाको तयार भैरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १६:२४