२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई राजिनामा दिएर सुन तस्करीको छानविनमा सहयोग गर्न एमालेको आग्रह

५ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजिनामा दिएर सुन तस्करीको छानविनमा सहयोग गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेको छ । एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले शुक्रबार सामाजिक सञ्जाल मार्फत राजिनामा दिएर तस्करीको छानविनमा सहयोग गर्न गृहमन्त्रीलाई  आग्रह गरेका हुन ।

थापाले विमानस्थलको सुरक्षा चेकजाँचको सन्दर्भ उल्लेख गर्दै आफूले कलम समेत झिकेर एक्सरे मेसिनमा राख्ने गरेको स्मरण गरेका छन । उनले भनेका छन, ‘हवाई यात्राको क्रममा गौचरन एयरपोर्टमा प्रायस् सधैभरि प्रतिनिधिसभा सदस्यको लोगो लगाएर म आम यात्रु जसरी सुरक्षा चेकजाँच गराउँछु। कहिलेकाहीँ भिआइपी कक्षतर्फ अलिक लामो प्रतिक्षाको लागि पनि जान्छु। तर सुरक्षा जाँचको प्रक्रिया पूरा गरेर मात्रै। त्यसक्रममा कलम, मोवाइल र पेटीसमेत खोलेर छुट्टै ट्रेमा देखाउन र एक्सरे मेशीनमा राख्न लगाइन्छ। त्यसो गर्नु संवदनशील सुरक्षा प्रयोजनले सही नै हो भनेर सहयोग गर्दै आएको छु। प्रहरी सुरक्षाकर्मीले त्यति गरिसक्दा शुरू र अन्तिमका एक्सरे मेशीन पार गर्नेक्रममा दुईदुई पटक शरीर छामछुम पनि गर्छन ! यो सबै देखाउन र लोक रिझाइका लागि गर्ने गरिएको हो त ?’

उनले एक क्वीन्टल सुन इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँचपरीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो भन्दै प्रश्न समेत गरेका छन । उनले यसै सन्दर्भमा गृहमन्त्रीले जवाफदेही भएर छानविन प्रभावित नहोस भनी स्वनिलम्बन/राजिनामाको घोषणा गर्न अत्यन्त ढिलो भैसकेको बताएका छन ।

उनले भनेका छन, ‘नैतिकता र जवाफदेहिता फगत आदर्शको रटान र स्टन्टवाजी वा आत्मप्रशंसाको खोक्रो अभिनय होइन र हुनैसक्दैन।जिम्मेवार व्यक्ति स्वयंले दृष्टान्त बन्न सक्नुपर्ने निर्मम विषय हो। गृहमन्त्री नारायणकाजी श्रेष्ठजी, जवाफ दिन सक्नुहुन्छ- तपाईको कार्यकालमा कति क्वीन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो? अनि, सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त? अब राजिनामा दिएर छानविनलाई सघाउनुस, अन्यथा तपाईंभन्दा नैतिकहराम मान्छे नेपाल सरहदभित्र नभूतो नभविष्यति अरू कोही देखिने छैन !’

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १२:०८