१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न शिक्षकलाई तालिम

४ साउन, सर्लाही । बागमती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई सिकाइ सीपसँगै क्षमता विकास तालिम दिन सुरुआत गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको सिकाइ सीपसँगै क्षमता विकासको तालिम प्रदान गर्न थालिएको नगरशिक्षा शाखाका प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिए ।

नगरपालिकाभित्र २५ सामुदायिक विद्यालयका करिब दुई सय शिक्षक शिक्षिकालाई एकैपटक तालिम दिन सुरु गरिएको उनले बताए । शिक्षक शिक्षिकालाई प्रविधिसँग जोड्न कम्प्युटर तालिम, बालबालिकालाई हसाउँदै खेलाउँदै पढाउनका लागि शैक्षिक सामग्री निर्माणको तालिम र राम्रो लेखनका लागि हस्तलेखन अभ्यास गराइएको छ ।

यसरी विभिन्न चरणका तालिममा सहभागी भएका शिक्षक शिक्षिकाले आआफ्नो विद्यालयमा प्रशिक्षकका रूपमा काम गर्ने नगर शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।नगरले ‘मन्टेश्वरी’ शिक्षण पद्धतिअनुसार नगरका सामुदायिक विद्यालयमा पठनपाठन गराइरहेको र नगरको सामुदायिक शिक्षाको गुणस्तर सुधारमा उच्च प्राथमिकता दिएको नगर प्रमुख भरतकुमार थापाले बताए ।

उनका अनुसार बालबालिकामैत्री पठनपाठनको अवधारणाअनुसार बागमती नगरपालिकाका सामुदायिक विद्यालय अगाडि बढिसकेका छन् ।बागमती नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताए । सामुदायिक विद्यालयले विद्यालयको वार्षिक पात्रो नै तयार गरेर नियमित परीक्षादेखि बालबालिकाका लागि अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएका उनले बताए।

बृहतर राष्ट्रिय शिक्षा अभियानका अभियन्ता अभिषेक घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि प्रशिक्षकका रूपमा सहयोग गरिराखेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १३:२७