५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता, अबदेखि सहकारी बैंकका सबै शाखामार्फत सहजै रेमिट्यान्स प्राप्त गर्न सकिने

२ साउन, काठमाडौ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आबद्ध हजारौँ सहकारीका सदस्यले विभिन्न सहकारीमार्फत नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स सहजै भुक्तानी पाउन सकिन्छ। रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले हस्ताक्षर गरे।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘रेमिट्यान्स बजारमा राष्ट्रिय सहकारी बैंकसँग हाम्रो आबद्धता हुनु हाम्रा लागि अझ बढी गौरवको विषय हो। यसबाट विभिन्न सहकारीमा आबद्ध सदस्यले आफू आबद्ध सहकारीमार्फत नै रेमिट्यान्स भुक्तानी प्राप्त गर्न सक्नेछन्।’

यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले भने, ‘नेपाल रेमिटजस्तो लामो इतिहास भएको रेमिट्यान्स कम्पनीसँग हाम्रो आबद्धता हुनु भनेको हाम्रा लागि पनि खुसीको कुरा हो। अबदेखि राष्ट्रिय सहकारी बैंकका कुनै पनि शाखाबाट नेपाल रेमिटमार्फत पठाएको रकम प्राप्त गर्न सक्नेछन्।’

नेपालको पुरानो र विश्वसनीय रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स भित्र्याउँदै आएको छ। रेमिट्यान्स सेवा सहकारीहरुमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्समार्फत देशको अर्थतन्त्र सुदृढीकरणमा थप टेवा पुग्ने नेपाल रेमिट इन्टरनेसनलका नायब महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए।

नेपालमा सहकारीको सुरुआत भएको ६ वर्षपछि अर्थात वि.स. २०२० सालमा सहकारी बैंकको स्थापना भएको थियो। २०१९ सालमा सहकारी ऐन आएपछि सोही ऐनका आधारमा सहकारी बैंक स्थापना भएको हो। तर, सहकारीसम्बन्धी ठोस नीतिको अभावमा २०२४ सालमा सहकारी बैंक कृषि विकास बैंकमा परिणत हुन पुग्यो।

२०४८ सालमा सहकारी ऐन र ०४९ सालमा सहकारी नियमावली आउनुका साथै राष्ट्रिय सहकारी संघ र सहकारीका अगुवाहरुको चाहना र पहलवाट २०५७ सालमा सहकारी ऐन २०४८ लाई संशोधन गरी सहकारी बैंक स्थापनासम्बन्धी व्यवस्था गरियो। नेपाल सरकारको १ करोड सेयर रकम र सहकारी संघ संस्थाहरुको सहभागितामा २०६० असार २५ गते राष्ट्रिय सहकारी बैंक लिमिटेड विधिवत रुपमा दर्ता भएको थियो। बैंकले आफ्ना सदस्य सहकारी संंघ–संंस्थाबीच २०६१ साउन १९ गतेदेखि कारोबार सुरु गरेको हो।

सहकारी विभागको मातहतमा सञ्चालन हुदै आएको बैंकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न स्वीकृति प्राप्त गरी आफ्नो कारोबार गर्दै आएको छ। यो बैंकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरु, जिल्ला सहकारी संघहरु, विषयगत सहकारी संघहरु, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरु आबद्ध छन्।

राष्ट्रिय सहकारी बैंकमा हाल ७५ जिल्लाका करिब ७ हजार ३०० सहकारी संघसंस्था सेयर सदस्य छन्। ३३ शाखा र १ केन्द्रीय कार्यालय गरी ३४ स्थानबाट ६६ करोडभन्दा बढी सेयर पुँजी संकलन, ८ अर्ब निक्षेप संकलन, करिब ५ अर्ब कर्जा लगानी र करिब १० अर्बको कारोबार भइरहेको छ। बैंकले पछिल्लो समय कृषि र विपन्न वर्ग कर्जामा विशेष प्राथमिकता दिँदै आएको छ। यो क्षेत्रमा करिब २ अर्ब लगानी रहेको छ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १३:२५