बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनले कति दिने भए ब्याज ?
३१ असार, काठमाडौं । साउन महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघको निर्णयअनुसार वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य भएसँगै बैंकहरुले आगामी साउन महिनामा लागू हुने नयाँ ब्याजदर प्रकाशन गरेका हुन् ।
आगामी साउन महिनाका लागि वाणिज्य बैंकहरुले आ–आफ्नो अनुकल ब्याजर निर्धारण गरेका छन् । साउन महिनाका लागि केही बैंकहरुले ब्याजदर बढाएका छन् भने केहीले भने घटाएर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार सबैभन्दा धेरे एनएमबि बैंकको रहेकाे छ । बैंकले मुद्दति निक्षेपमा १०.९८ प्रतिशतसम्म ब्याजदर दिने भएको हो । यद्यपि, यो भने १० वर्षभन्दा माथि अवधिको मुद्दति निक्षेपको ब्याजदर हो । १० वर्षभन्दा कम र २ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा ९.७५ प्रतिशत ब्याजदर दिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै, दोस्रो स्थानमा प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले मुद्दति निक्षेपमा अधिकतम १०.९३ प्रतिशत ब्याजदर दिने भएको छ । त्यस्तै, नबिल बैंकले १०.४९ प्रतिशत ब्याजदर तोकेको छ । कुमारी बैंकले १०.०१ प्रतिशत ब्याजदर, हिमालयन बैंक, ग्लोबल आइएमई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेमा ९.९९ प्रतिशत ब्याजदर तोकेका छन् ।
कृषि विकास बैंकले ९.५१ प्रतिशत, सिद्धार्थ बैंकले ९.५० प्रतिशत, प्रभुले ९.५० प्रतिशत र एभरेष्ट बैंकले १०ल प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । साथै, सानिमा बैंकले मुद्दति निक्षेपको ब्याजदर ९.२५ प्रतिशत, नेपाल एसबिआईले ९.१० प्रतिशत, माछापुच्छ्रेले ९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.९९ प्रतिशत, नेपाल बैंकले ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । साउन महिनामा सबैभन्दा कम ब्याजदर स्ट्याण्डर्ड चार्टर्डको रहेकाे छ । बैंकले मुद्दति निक्षेपमा ८.९५ प्रतिशत ब्याजदर तोकेको छ । साउन महिनाका लागि बैंकहरुले औसत ब्याजदर ९.७२ प्रतिशत कायम गरेका छन् ।
प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १२:२५