१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

इक्यानको अध्यक्षमा एमालेका पाण्डेलाई पराजित गर्दै शेषराज भट्टराई विजयी (सबैको मतसहित)

-पवित्रा मुडभरी

३० असार, काठमाडाैँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा नेकपा एमाले निकटका विष्णुहरि पाण्डेलाई भारी मतले पराजित गर्दै नेकपा एकीकृत समाजवादी र एमाले दुबै पार्टी निकट मानिएका शेषराज भट्टराई विजयी भएका छन । इक्यानको अध्यक्षमा विजयी भएका भट्टराईले २३८ मत प्राप्त गर्दा निकटतम् प्रतिद्धन्द्धी पाण्डेले १४६ मत प्राप्त गरेका छन ।

पाण्डेले केही स्वतन्त्र कांग्रेस र नेकपा माओवादी निकटकाहरूको पनि साथ लिएका थिए यद्यपी उनले सुखद् नतिजा प्राप्त गर्न सकेनन् । भट्टराईलाई नेकपा एकीकृत समाजवादी निकट पूर्व अध्यक्ष प्रकाश पाण्डे लगायतको पूर्ण समर्थन रहेको थियो । पाण्डे यस अघि एक कार्यकाल इक्यानको अध्यक्ष भैसकेका व्यक्ति हुन ।

यस्तै उपाध्यक्षमा लक्ष्मण पौडेल २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटीले १५३ मतसहित विजयी भएका छन । उपाध्यक्षमा विजयी शिवाकोटी भट्टराई  निकट हुन भने क्षेत्री र पौडेल पाण्डे निकट हुन । महासचिवमा भट्टराई  निकट नै दीपक भुसाल विजयी भएका छन । उनले २५५ मत प्राप्त गर्दा पाण्डे प्यानलका वासुदेव दाहालले १५५ मत प्राप्त गरेका छन ।  सचिवको दुबै पदमा भट्टराई  निकट विजयी भएका छन । भावनाथ हुमागाईँ २६०, रत्न बहादुर भट्टराई १६८ मतसहित विजयी भएका छन ।

विजयी उम्मेदवारहरू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि सामूहिक तस्बिर कैद गराउँदै ।

कोषाध्यक्षमा पनि भट्टराई निकटै आशिक कार्की विजयी भएका छन । उनले २०८ मत प्राप्त गर्दा पाण्डे प्यानलका विनोदकुमार सुवेदीले २०१ मत प्राप्त गरेका छन ।  सहकोषाध्यक्षमा विकल्पराज पौडेल २१६ मतसहित विजयी हुँदा पाण्डे समूहका हेमराज सिग्देलले १८७ मत प्राप्त गरेका छन ।

यस्तै सदस्यहरूमा सुरज सिलवाल ३०१, साधना पुडासैनी २६६, उमा खड्का पाठक २४२, मञ्जित ढकाल २०९, गोविन्द खनाल २०२, आशिष रायमाझी १९८, एसपी भट्टराई १८५, विजयकुमार बस्नेत १८४ र श्रीराम गिरी १८४ मतसहित विजयी भएका छन । सर्वाधिक मतसहित सुरज सिलवाल म्यान अफ दी इलेक्सन भएका छन । उनले सर्वाधिक ३०१ मत प्राप्त गरेका छन । उनी पाण्डे समूहका उम्मेदवार हुन । सदस्यमा विजयी भएका नौ मध्ये पाण्डे समूहबाट सिलवालसहित आशिष रायमाझी, मञ्जित ढकाल, एसपी भट्टराई, साधना पुडासैनी र श्रीराम गिरी विजयी भएका छन ।

सम्पूर्ण उम्मेदवारहरूको मत बिबरण तल हेर्नसक्नुहुन्छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार १९:५९