७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर, ५ जनाको शव फेला

२६ असार, काठमाडौं । सोलुखुम्बुबाट काठमाडौं आउँदै गर्दा मंगलबार बिहान सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हाे ।

सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको उनले जानकारी दिए । दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौँ उडेको कलसाइन ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर एक मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन हेलिकोप्टरमा पाइटलसहित छ यात्रु सवार थिए ।हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ । (यसअघि गलत तस्बिर प्रयाेग भएकाेमा क्षमायाचनासहित हटाइएकाे छ । प्रधानसम्पादक)

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार १२:४७