२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

तीन दलका शीर्ष नेताको बैठकः प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने, एमालेले संसदकाे अवराेध हटाउने

२४ असार, काठमाडाैं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्न सहमत भएपछि एमाले सदनको गतिरोध हटाउन सहमत भएकाे हाे । शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलपछि सदन सुचारु गर्न सहमति भएको हो ।

शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा प्रधानमन्त्रीले आइतबार ३ बजेका लागि तय भएको बैठकलाई सम्बाेधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको  प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

शीर्ष बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले देशबासी समक्ष आफ्नो अभिव्यक्ति प्रति माफी माग्नुपर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीले आफूले सदनमा स्पष्टिकरण दिने र आफ्नो भनाइको आशयसहित अभिव्यक्ति सच्याउने कुरा भएको र सदनमा चित्तबुझ्दो प्रष्टिकरण नदिए एमालेले पुनः सदन अवरोध गर्ने जनाएको छ । प्रधानमन्त्रीको स्पष्टीकरण चित्त बुझ्दो भएमा एमालेले सदन चल्न दिने सहमती गरेकाे हाे । छलफलछि प्रधानमन्त्रीको राजीनामा एमाले पछाडि हटेकाे छ ।

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागि थिए । यसअघि प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अपराह्न ३ बजेका लागि सारेका छन् ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १३:३६