५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अर्थतन्त्र सुधारमा सघाउन आइएमएफलाई नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

२२ असार, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गर्नुभएको छ । आइएमएफका आवासीय प्रतिनिधिबीच आज भएको भेटवार्तामा उहाँले विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गर्नुभएको हो । अध्यक्ष ढकालसँग नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष ढकालले दुई संस्था मिलेर विद्यमान आर्थिक मन्दीको अवस्थालाई सुधार्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनःसंरचना, पुनःतालिकीकरण, पुनःकर्जा सुविधा दिनुपर्नेमा महासङ्घले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताउनुभयो ।

सो अवसरमा आवासीय प्रतिनिधि सान्चेजले महासङ्घका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्त्वका साथ लिएको बताउनुुभयो । साथै उहाँले सो विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने विश्वास दिलाउनुभयो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार २२:५२