२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेकाे अवरोधपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित

२२ असार, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिएका थिए ।

सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन कुनै व्यक्ति दिल्ली गएको भनी अभिव्यक्ति दिनुभएको भन्दै त्यसप्रति आपत्ति जनाएकी छिन्।

उनले नेपालको प्रधानमन्त्री नेपाली जनताका प्रतिनिधि रहने सर्वाेच्च थलो सार्वभौम संसद्ले बनाउने व्यवस्था रहेको र कुनै व्यक्ति र बाह्य मुलुकले प्रधानमन्त्री बनाउन पहल गरेको सन्देश जाने गरी अभिव्यक्ति दिनु संविधान र मुलुकको स्वाधीनता विपरीत भएको टिप्पणी गरीन्।

सांसद घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकको नियमित कारबाही सञ्चालन हुननसक्ने स्पष्ट पारिन्। अध्यक्ष तिमिल्सिनाले बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको र यसलाई निष्कर्षमा पुर्याउन समय कम भएकाले बैठक पुनः सञ्चालनका लागि आग्रह गरेका थिए ।

तर एमालेका सांसदहरु उभिएर विरोध जारी राखेपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक स्थगित भएको घोषणा गरे । राष्ट्रियसभामा विनियोजन विधेयकका बाँकी विभिन्न शीर्षकमाथिको छलफलका लागि यही असार २४ गते निर्धारण गरिएको  छ । साथै छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीको जवाफका लागि असार २५ र २६ गतेको समय तोकिएको छ । राष्ट्रियसभाको अर्काे बैठक यही असार २४ गते बिहान ११ः३१ बजे बस्नेछ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १३:३२