२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

बालेनको प्रस्तावः काठमाडौँ महानगरका शैक्षिक संस्था कांग्रेसको भ्रातृ संस्था मुक्त बनाऔँ

२० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन पछिल्लो समय विभिन्न अडान र निर्णयका कारण चर्चाको शिखरमा छन । उनको निर्णय र अडानका समर्थकहरू पनि निरन्तर बढ्दै गएका छन । उनले काठमाडौँका शैक्षक संस्था सुधारका निम्ति पछिल्लो समय केही काम समेत गरिरहेका छन । त्यसका लागि प्रमुख बालेनले छात्रबृत्ति कार्यान्वयनदेखि निजी विद्यालयका शिक्षकको पनि सरकारीको सरह सुविधान हुनुपर्ने कुरामा पहलकदमी लिएका छन भने त्यसो नगर्ने माथि कारबाही गर्ने चेतावनी समेत दिइरहेका छन ।

बालेनले शिक्षाको सुधारका निम्ति चालेको कदमको चौतर्फी प्रशंशा भैरहेकै समयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई स्थापित गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोमबार स्व= गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका थिए । त्यसको प्रतिक्रिया स्वरूप महानगर प्रमुख शाहले मंगलबार सामाजिक सञ्जाल मार्फत कम्तिमा काठमाडौँ महानगरभित्रको शैक्षिक संस्थाहरू नेपाली कांग्रेसको भ्रातृ संस्था मुक्त बनाउन प्रस्ताव गरेका छन । उनले बोलेको कुरा पूरा गर्नुहोला माननीयज्यू भन्दै आग्रह  समेत गरेका छन ।

बालेनले भनेका छन, ‘माननीय गगन थापाज्यु, दलको हिजोको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नु भयो । नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भने पछि, काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ । बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु ।’

थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताएका थिए । महामन्त्री थापाले कुनैपनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नेकुरा स्थापित गर्नुपर्ने उल्लेख गरेका थिए । अहिले आदर्शका कुरा गर्ने थापाले त्रिचन्द्र क्याम्पसमा नेविसंघको नाममा विद्यार्थी राजनीति गर्दा मुटु रोगी क्याम्पस प्रमुखलाई कसरी धम्काउने भन्ने प्रशिक्षण दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 

प्रकाशित मिति : २० असार २०८०, बुधबार ०९:२४