एकैपटक पाँच कम्पनीले पाए आईपीओ निष्कासकाे अनुमति, कुनकाे कति ?
१९ असार, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) एकैपटक पाँच कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डले सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो।
१) सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएकाे छ। बोर्डले कम्पनीलाई १ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्नअनुमति दिएकाे हो ।
कम्पनीलाई धितोपत्र बोर्डले १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीका लागि अनुमति दिएको हो । यसमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ भने कर्मचारीका लागि ५ लाख ६२ हजार ५०० कित्ता छुट्याइएको छ। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।
२) सन नेपाल लाइफ इन्स्योरेन्स
धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्सलाई १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ आईपीओ बिक्री गर्न अनुमति दिएकाे छ । कम्पनीले कुल ९६ लाख कित्ता आईपीओ बिक्रीको अनुमति पाएको हाे। जसमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ४ लाख ८० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
३) मिड–सोलु हाइड्रोपावर
नेपाल धितोपत्र बोर्डले मिड–सोलु हाइड्रोपावरलाई स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली र सर्वसाधारणलाई १०० अंकित मूल्यमा कुल १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएकाे छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
४) हाथवे इन्भेस्टमेन्ट नेपाल
हाथवे इन्भेस्टमेन्टले ५० रुपैयाँको दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
५) मान्डु हाइड्रोपावर
मान्डु हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ बिक्री गर्न अनुमति पाएको छ। यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई कुल १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
प्रकाशित मिति : 14:54









