मलेसियालाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले गर्यो उपाधिमा ह्याट्रिक
१९ असार, काठमाडौं । नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने यू-१६ स्तरको प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ। नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले उपाधि जितेको हो ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । दुई सय ५३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मलेसियाको पारी १४ दशमलव पाँच ओभरमा ३१ रनमै समेटियो । मलेसियाका लागि मोहम्मद अक्रमले १० रनाए ।
अन्य खेलाडीले दोहरो अङ्कको रन बटुल्न सकेनन् । बलिङतर्फ नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा एक मेडन राख्दै सात रन दिएर पाँच विकेट लिए । यस्तै सन्तोष यादवले तीन तथा सागर गैरेले एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले ।
उनले ८९ बल खेल्दै दुई छक्का र १० चौकाको मद्दतमा अविजित एक सय १२ रन बनाए । यस्तै नीरज यादवले ४७, सुर्यांशु कोइरालाले १८, सन्तोष यादवले २६ र अशोक धामीले ११ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद अक्रमले तीन तथा आरिन एक्विल र मुहम्मद फदुल मुइनले एक/एक विकेट लिए । सोमबार नेपालले सिङ्गापुरलाई तथा मलेसिया हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।
प्रकाशित मिति : १९ असार २०८०, मंगलवार ११:५३