२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले भर्न पाउछन् ?

१९ असार, काठमाडाैं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज असार १९ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो सेयरमा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण सेयर  वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेकाे हाे ।

उक्त आईपीओमा  स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि जारी आईपीओ छिटोमा साउन २ गते र ढिलोमा साउन १७ गते बैंकिङ समयपछि बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन २ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।

स्थानीय बासिन्दाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालय तथा गौरीसंकर गाउँपालिकाको कार्यालयबाट आवेदन दिन सक्नेछन्। प्रभावित क्षेत्रका बासिन्दाहरुले सयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्ने तय गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ।

प्रकाशित मिति : 10:42