१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

होटल व्यवस्थापनमा मोर्गनका विद्यार्थी लगातार तेस्रो पटक युनिभर्सिटी बोर्ड फर्स्ट

१३ असार, काठमाडाैँ । मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा होटल व्यवस्थापन अध्ययन गरेका विद्यार्थी विश्वविद्यालयको परीक्षामा लगातार तेस्रो पटक बोर्ड फस्र्ट भएका छन् । स्नातक तहको होटल व्यवस्थापन विषयको पहिलो सेमेस्टरमा साइमा अन्सारी युनिभर्सिटी बोर्ड फर्स्ट भएकी हुन् । पूर्वाञ्चल विश्वविद्यालयले होटल व्यवस्थापनमा २०७८ ब्याचमा भर्ना भएका पहिलो सेमेस्टरका विद्याथीको नतिजा केही दिनअघि सार्वजनिक गरेको थियो ।

विश्वविद्यालयको नतिजाअनुसार, मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा अध्ययनरत विद्यार्थी साइमा अन्सारी बीएचएम प्रथम समेस्टरमा ३.७९ जिपिएसहित बोर्ड परीक्षामा विश्वविद्यालय प्रथम भएकी हुन् । अन्सारीले कक्षा ११ र १२ पनि मोर्गन कलेजमै अध्ययन गरेकी थिइन् ।

यसअघि २०७७ ब्याचको होटल व्यवस्थापनको बोर्ड परीक्षामा पनि मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजका विद्यार्थी उत्कृष्ट भएका थिए । उक्त ब्याचको दोस्रो समेस्टरको बोर्ड परीक्षामा मोर्गन कलेजका विद्यार्थी नै प्रथम, द्वितीय र तृतीय हुन सफल भएको कलेजका होटल व्यवस्थापन विभाग प्रमुख राहुल बुढाथोकीले जानकारी दिए ।

त्यसबेला मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजकी विद्यार्थी एकता चौलागाई दोस्रो सेमेस्टरमा ३.८८ जिपिएसहित बोर्ड फस्र्ट भएकी थिइन् । त्यसैगरी, कृतिका खड्काले ३.७९ जिपिएसहित बोर्ड परीक्षामा दोस्रो स्थान र कृपेश अधिकारीले ३.७५ जिपिएसहित तेस्रो स्थान हासिल गरेका थिए ।

त्यसअघि २०७६ ब्याचमा पनि उनै एकता चौलागाईले होटल ब्यवस्थापनको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा विश्वविद्यालय बोर्ड फस्र्ट भएको विभागीय प्रमुख बुढाथोकीले जानकारी दिए । चौलागाई ३.८८ जिपिएसहित बोर्ड फस्र्ट भएकी थिइन् । विद्यार्थीहरुलाई व्यवहारिक सिकाइमा विशेष ध्यान दिइने भएकोले मोर्गन कलेजले लगातार उत्कृष्ट नतिजा हासिल गरिरहेको बुढाथोकीले बताए ।

‘कलेजले होटल व्यवस्थापन अध्यापनको लागि सम्पूर्ण सुविधासहितको आधुनिक ल्याब तयार गरेको छ । उच्च दक्षता हासिल गरेका अध्यापकहरुले विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक विषय सिकाउनुहुन्छ । यसैको प्रतिबिम्ब बोर्ड परीक्षामा देखिएको हो’, बुढाथोकीले भने ।

त्यसबाहेक, विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले काठमाडौंका उत्कृष्ट होटलको निरन्तर अवलोकन भ्रमण गराउने व्यवस्था मिलाइएको उनले बताए । ‘होटल म्यानेजमेन्टको ल्याबमा निरन्तर अभ्यासबाट नै विद्यार्थीलाई अभ्यस्त बनाउने गरेकाछौं । होटल व्यवस्थापनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने ध्येयका साथ काम गरेकाले हरेक वर्ष हामीले विद्यार्थीबाट उत्कृष्ट नतिजा पाइरहेका छौं’, बुढाथोकीले भने ।

मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा पूर्वाअञ्चल विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा होटल म्यानेजमेन्ट, ब्याचलर अफ विजेनेश एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ सिभिल इञ्जिनियरिङ र एमबीए अध्यापन भइरहेको छ ।

त्यसैगरी, मोर्गन इन्टरनेशन कलेजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ब्याचलर इन कम्युटर एप्लिकेशन (बीसीए), ब्याचर अफ इन्फरमेशन म्यानेजमेण्ट (बीआइएम), ब्याचलर अफ विजेनेश म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ विजनेश स्टडिज (बीबीएस) लगायतका विषय अध्यापन भइरहेको छ । कलेजले गत साता मात्रै आफ्ना विद्यार्थीलाई जापानमा इन्टर्नसीप गराउनको लागि जापानिज् कम्पनी आइम्याक इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार २०:४९