६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित

१३ असार, काठमाडाैं । ‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेकाे उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो ।

विधेयकको पक्षमा एकसय ४७ र विपक्षमा एकसय आठ मत परेको थियो । सभामुख देवराज घिमिरेले सो संख्या प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले विनियोजन विधेयक पारित भएको घोषणा गरे ।

आजको बैठकमा दुई सय ५५ सांसदको उपस्थिति थियो । त्यसअघि सभामुख घिमिरेले मत विभाजनका लागि पाँच मिनेट जनाउ घण्टी बजाउन सचिवालयलाई निर्देशन दिई आवश्यक प्रक्रिया अगाडि बढाएका थिए ।

त्यसअघि अर्थमन्त्री डा महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनि मतका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको पक्षमा बहुमत रहेको भन्दै उनले विनियोजन विधेयक २०८० पारित भएको घोषणा गरेका थिए । तर, नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए । मत विभाजनको माग भएपछि सभामुखले उक्त प्रक्रिया अगाडि बढाएका हुन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १६:५२