६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सबैको अपनत्व हुने गरी योजना निर्माण थालिएको छः राष्ट्रिय योजना आयोग

१२ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगले १६ औं योजना निर्माणका लागि तीनै तहका सरकार,निजी क्षेत्र,गैह्र सरकारी क्षेत्र,विकास साझेदार लगायतसंग समन्वय गरेर योजना निर्माणको काम थालेको जानकारी दिएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगले विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुलाई समेटेर योजनाको अवधारणा पत्र र पूर्ण दस्तावेजलाई समेत स्वीकृत गर्ने अधिकार सम्पन्न समावेशी प्रकृतिको निर्देशक समिति समेत गठन गरिएको जानकारी दिएको हो ।

आयोगका सहसचिव तथा प्रवक्ता सुमन दाहालले, १६ औं योजना तर्जुमा गर्दा आयोगले सबै तहका सरकारका बीच समन्वय हुने गरी काम गर्न निर्देशक समिति देखि क्षेत्रगत विषयमा समेत समिति गठन गरी काम थालेको बताए ।

‘यो समयमा हामीले बढीभन्दा बढी स्टेकहोल्डरहरुको सहभागीता र स्वामित्व हुने गरी सबै मिलेर १६ औं योजना बनाउँदै छौं भन्ने अपनत्व गराउने गरी तीनै तहका सरकार,गैह्र सरकारी क्षेत्र,निजी क्षेत्र,सहकारी क्षेत्रलाई समेट्ने गरि १०० जनाको अधिकार सम्पन्न निर्देशक समिति बनाएका छौं । ’ उनले भने, ‘यो समितिले १६ औं योजनाको अवधारणापत्रलाई स्वीकृत गर्छ र पूर्ण दस्तावेजलाई पनि यहि समितिले स्वीकृत गर्छ,यो एउटा अधिकार सम्पन्न निर्देशक समिति हो ।’

त्यस्तै, आयोगले १६औं योजनाको अवधारणा पत्र बनाउने सन्दर्भमा सरोकारवाला निकायसंग छलफल गरी राय संकलन गरेको समेत उनले जानकारी दिए ।

आयोगले आवश्यक अन्य विविध क्षेत्रगत विषयमा समेत छुट्टाछुट्टै निकाय र प्रतिनिधिहरुसंग राय संकलन गरिरहेको उनको भनाई छ ।
समावेशी किसिमले आर्थिक, प्राविधिक लगायतका विभिन्न समितिहरु बनाएको र उनीहरुले योजना निर्माणदेखि समन्वयन सम्मको काममा सहजीकरण गर्ने काममा आयोग प्रतिवद्ध रहेको उनको भनाई छ ।

प्राविधिक र विषयगत विभिन्न समितिहरुले योजना तर्जुमा,कन्टेन संकलनदेखि योजनालाई अन्तिम रुप दिने सम्मको प्रकृयामा काम गर्ने आयोगले जानकारी दिएको छ । त्यसका लागि आयोगले २०८० माघ मसान्त सम्मको समयावधि तोकेर राष्ट्रिय,प्रादेशिक तथा स्थानीय स्तरका सरोकारवालाई समेत समेट्ने गरी छलफल तथा सुझाव संकलन गर्ने कार्यतालिका बनाएरै अगाडि बढेको प्रवक्ता दाहालले बताए ।

‘०८० साल माघ मसान्त सम्मको समयावधि तोकेर सुझाव संकलनका लागि राष्ट्रिय,प्रदेश र स्थानीय स्तरसम्म बटम अपको दृष्टिकोण अनुसार तल्लो तहसम्म पुगेर सरोकारवालासंग छलफल गर्ने छौं ।त्यस्तै निजी क्षेत्र,गैह्र सरकारी क्षेत्र,सहकारी एवं विकास साझेदारहरुसंग पनि छलफल गरि सुझाव संकलन गर्ने कार्यतालिका नै बनाएका छौं ’ दाहालले भने ।

सोह्राैँ योजना निर्माण गर्दा आयोगले अघिल्ला योजनाहरुमा विकास खर्च चुनौतिको रुपमा रहेकाले त्यसलाई न्युनिकरण गर्न आगामी योजनामा कार्यान्वयन गर्न सकिने खाले फरक किसिमले योजना तर्जुमा गर्नतर्फ ध्यान दिएको उनको भनाई छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १४:२३