कमजाेरी लुकाउने घोराहीकाे विज्ञप्ति, अपत्यारिलो विवरण देखाएर लगानीकर्ता ठग्ने खेल
८ असार, काठमाडौं । सगरमाथा सिमेन्ट उत्पादन गर्दै आएको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले कम्पनीले प्रिमियम मूल्यमा आईपीओ सेयर निष्काशनको खुला अवधिभित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्यातिमाथि नकारात्मक असर पुयाउने भ्रमपूर्ण र गलत सूचना निकालिएको भन्दै कमजोरी लुकाउने प्रयास गरेको छ ।
कम्पनीले शुक्रबार विज्ञप्ती जारी गर्दै बदनियतपूर्ण अनर्गल प्रचारको क्रममा उठाइएका सम्पूर्ण विषयहरूको बारेमा पूर्ण पारदर्शी रुपमा स्पष्ट पार्न उद्योग सदा तत्पर रहेको दाबी गरेको छ । यद्यपी बजारमा उठेका प्रश्नहरूको ठोस जवाफ दिएको छैन ।
कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने गरी खातामा बिना पैसा ठूलो परिमाणमा फर्जी आवेदन दिएको सूचना बाहिरिएपछि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन प्रक्रिया स्थगित गरिदिएको छ, त्यसको छानविनका लागि बोर्डले कार्यदल समेत गठन गरेको छ। हाल त्यो अनुसन्धानकै चरणमा छ । तर, कम्पनीले अनुसन्धानलाई समेत प्रभाव पार्ने गरि शुक्रबार सूचना जारि गर्दै आफ्नो कमजोरी लुकाउन खोजेको भन्दै लगानीकर्ताहरूले बिरोध जनाइरहेको छन् ।
आईपीओ ओभरसब्सक्राइब्ड भइसकेको अवस्थामा आवेदन दिने म्याद थपिएपछि शंकाको घेरामा परेको थियो घोराही सिमेन्ट । मागभन्दा बढी आवेदन पर्दा पनि आईपीओमा आवेदन दिन समय थप गर्नुले पनि कम्पनीको बदमासी रहेको प्रष्ट देखिन्छ । कम्पनीको आईपीओमा १२ जनाले १० लाख कित्ताका दरले फर्जी आवेदन दिएको खुलासा पनि भएको थियो। हाल ती १२ जनाको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको छ।

प्रकाशित मिति : 16:29









