२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि एमालेको विरोध, प्रतिनिधिसभा बैठक स्थगित

८ असार, काठमाडौं । नेकप एमालेका सचेतक महेश वर्तौलाले उपराष्ट्रपतिको कार्यालयलाई विनियोजित रकमबारे विषय सूचीमा राखेर पनि पुस्तिका उपलब्ध नगराएकोप्रति आपत्ति जनाएका छन् ।

संघीय संसदमा जारी मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सचेतक बर्तौलाले उपराष्ट्रपतिको कार्यालयलाई छुट्याइएको खर्च सम्बन्धि पुस्तिका उपलब्ध नगराएसम्म संसद चल्न नसक्ने बताए । उनले यो विषय राखेपछि संघीय संसदको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

उनले भने ‘ उपराष्ट्रपति कार्यालयको खर्चलाई पनि विषय सूचीमा राखिएको छ । मैले यो पुस्तिका खोइ त भनेर खोजे अरु माननीयहरुलाई पनि सोधे कसैले पाएको छैन । प्रतिपक्षलाई मात्र प्राप्त नगराएको हो की भनेर सत्तापक्षलाई सोधे तर उहाँहरुले पनि प्राप्त गर्नु भएको रहेन छ। उपराष्ट्रपति कार्यलयको विनियोजन खर्चको समेटिएको पुस्तिका कतै पुगेको रहेनछ । यो संसदमा ल्याउनु पर्ने कसले ? १० दिन देखि हामी विषयगत मन्त्रालयको विनियोजन विषयमाथि छलफल चलाईरहेका छौ । आजसम्म उपराष्ट्रपति कार्यालयको विनियोजन खर्च शीर्षकको पुस्तिका उपलव्ध गराएको छैन् । यो काम सरकारको हो । सदनलाई यस्ता विषयमाथि छलफलमा नल्याउने छलफलबाट वेगर बनाउने सामग्री उपलब्ध नगराउन रवैया सरकारबाट भईरहेको छ । पुस्तिका वेगर यो हाउस यि विषयमाथि छलफल गर्न सक्दैन । कार्य सूचीबाट हटाईयोस । ’

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १३:२१