छुटाउनु भयाे कि ? सर्वसाधारले ५० हजार कित्तासम्म किन्न पाउने आईपीओ भर्ने आज अन्तिम दिन
८ असार, काठमाडाैं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज असार ८ गते शुक्रबार अन्तिम दिन रहेको छ। कम्पनीले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
सो मध्ये ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरिसकिएकाे छ । बाँकी रहेको १५ प्रतिशत अर्थात ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता सेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँड पश्चात बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे थियाे ।
कम्पनीकाे आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर खरिद आवेदन दिन सकिनेछ।
सीडीएससीका अनुसार बिहीबार साँझसम्म कम्पनीकाे आईपीओमा ७ लाख ६५ हजार ६८४ आवेदकबाट कुल ८५ लाख २६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १३.९० गुणाले बढी हो।
प्रकाशित मिति : 10:45









