२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्योः सभापति लामिछाने

७ असार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताएका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको एकवर्षे यात्राको समीक्षा गर्दै भने, “यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपाली जनताले आशा र भरोसाका रुपमा हेरेको नयाँ सफल पार्टीका रुपमा लिएका छाैँ ।”

सभापति लामिछानेले पार्टीलाई विस्तार गरेर जनताको विश्वासअनुसार परिणाममुखी बन्नु अबको चुनौती भएको बताए । “उपनिर्वाचनसम्म आइपुग्दा आमनागरिकलाई हामी नयाँ पार्टी, नयाँ मान्छे आएको जानकारी भयो”, उनले भने, “सम्पूर्ण नागरिकमाझ पुगेर विश्वासलाई मतमा रुपान्तरण गर्न सक्नेगरी सङ्गठन विस्तार गर्नुपर्ने चुनौती छ ।”

उनले पार्टीले चाहेजस्तो नेतृत्वलाई समावेश गरेर सङ्ख्याका रुपमा मात्र ठूलो नभई आन्तरिक लोकतन्त्रलाई कायम राखेर परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले रास्वपाको संसद्मा भूमिका अझ मर्यादित र सशक्त हुने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा पूर्वबैंकर अनिलकेशरी शाह औपचारिकरुपमा रास्वपा प्रवेश गरेका छन् । उनलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १३:३५