२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले दिन पाउछन् आवेदन ?

७ असार, काठमाडाैं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार ७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हाे  ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न गरेकाे हो । जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्ला बासीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, सर्वसाधारणका लागि छुट्याइएको आईपीओको १० प्रतिशतले हुन आउने १ करोढ ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको १ लाख ९८ हजार ८ सय २४ कित्ता आईपीओ वैदेशिक राेजगारीमा गएका नेपालीहरुका लागि बिक्री खुला गरेको छ।

उक्त आईपीओमा स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतममा २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीयका लागि आईपीओको बिक्री बन्द छिटोमा असार २१ गते र ढिलोमा साउन ५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असार २१ गतेसम्म आवेदन दिन पाउनेछन्।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

प्रकाशित मिति : 09:48